
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने बताउनुभएको छ ।
भक्तपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट पार्टी अगाडि बढेको बताउनुहुँदै पार्टीको जति ठूलो पदमा रहेको भए पनि त्यस्ता मन्त्रीलाई कारबाही हुने जनाउनुभयो ।
माओवादीबाट केन्द्र र प्रदेशका सरकारमा सहभागीलाई त्यस्तो जानकारी गराइएको पनि दाहालको भनाई छ । पार्टीबाट समावेशी रूपमा पठाइएका मन्त्रीहरूले काम दीर्घकालीन रूपमा अगाडि बढाएको पनि दाहालले बताउनुभयो ।
तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको तर सरकारको नेतृत्वले त्यसलाई कार्यान्वयनमा नलगेको उहाँले बताउनुभयो ।
केन्द्रदेखि प्रदेश सरकारसम्ममा माओवादी पार्टीले समावेशी एवं समानुपातिक रूपमा मन्त्री बनाएको पनि प्रचण्डले बताउनुभयो ।