
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई खटाएको जनाएको छ । हरेक दस/दस वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना नयाँ संविधान कार्यान्वयन भएपछि पहिलो पटक सुरु भएको हो ।
जनगणनामा सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको छ । केन्द्र«यी तथ्याङ्क विभागले मुख्य प्रश्नावलीमा परिवारको आर्थिक अवस्था, पेसा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चार साधन, महिलाका नाममा सम्पत्ति, घरेलु व्यवसाय, विदेशमा रहेका व्यक्ति आदिबारे सोध्ने गरी व्यवस्था मिलाइएको छ । जनगणनाबाट विभिन्न जाति, भाषा, लिङ्ग, धर्म, वर्ग, क्षेत्र, अपाङ्गता भएका व्यक्ति, स्थानीय सरकारबाट नागरिकले पाउने सेवा, त्यहाँको कृषि उत्पादनदेखि मातृ मृत्युदरको समेत तथ्याङ्क प्राप्त हुने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो ।
तथ्याङ्क विभागका अनुसार जनगणना गर्दा अधिकांश ठाउँमा प्रश्नावली सोधिने भए पनि काठमाडौँमा ट्याब्लेट विधि र विदेशस्थित कूटनीतिक निकायका लागि भने इ–सेन्सरको व्यवस्था मिलाइएको छ । त्यस्तै गरी एक गणकलाई करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको छ । जो मानिस जहाँ बढी बसोबास गर्छ, त्यहीबाट त्यस व्यक्तिको गणना हुनेछ । मुलुकको विकास निर्माणसँग जोडिएको जनगणनाको तथ्याङ्क सङ्कलन गर्दा कोही पनि नछुट्ने तथ्याङ्क विभागले जनाएको छ । पुनः विभागका निर्देशक लामिछाने
२०६८ सालको जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । केन्द्रीय तथ्याङ्क विभागमा २०६८ सालको जनगणनाको आधारमा राखिएको जनसङ्ख्या घडी अनुसार गत वर्षको असार २२ गते नै नेपालको जनसङ्ख्या ३ करोड नाघिसकेको छ । नेपालमा पहिलो पटक १९६८ सालमा भएको जनगणनामा ५६ लाख ३८ हजार ६ सय ४९ जनसङ्ख्या रहेको थियो । जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउने विभागले जनाएको छ ।
जनगणना मानिसहरूको तथ्याङ्क सङ्कलन मात्रै नभई देश विकास र निर्वाचन क्षेत्र निर्धारणलगायतका विषय जोडिएकाले मुलुकलाई नयाँ नीति र योजनासहित अघि बढ्न महत्त्वपूर्ण मानिन्छ ।