
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतलाई मात्र २७ रनमा अलआउट गरेको छ । कुवेत २७ रनमा अलआउट भएपछि नेपालले जितका लागि २८ रनको सामान्य लक्ष्य पाएको छ ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र २७ रन जोड्न सक्यो ।
कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे । करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए ।
ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपालमाथि आज कुवेतविरुद्धको खेल जित्नुपर्ने दबाब छ ।
नेपालले यस अघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगे पनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।
कुवेतले भने अघिल्ला दुबै खेलमा पराजय भोगेको छ । उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार व्योहोरेको थियो ।