
नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भएको मतदानको गणना आजै गरिने भएको छ ।
आज साढे ३ बजे देखि सुरु भएको मतदान सकिएपछि आजै राति १० बजेबाट गणना शुरु हुने कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो ।
सोमबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणमा मतदान भइरहेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ ।
देउवालाई पहिलो चरणमा उम्मेदवार रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गर्नुभएको छ ।