
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित विश्वप्रकाश शर्माले आफू गौरवान्वित भए जति नै आफ्नो जिम्मेवारीप्रति गम्भीर रहेको बताएका छन् ।
पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहीवार सानेपास्थित पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले भने, ‘यो व्यक्तिगत रुपमा विश्वप्रकाश शर्मालाई उहाँहरुले छनौट गर्नुभएको, एउटा व्यक्तिलाई जिताउनुभएको या एउटा गुटलाई जिताउनुभएको होइन् । पार्टीलाई आजका जीवन्त र ज्वलन्त मुद्दाहरुलाई बुझ्न सक्ने बनाएर नेपाली समाजको नविन ढंगले नेतृत्व गर्नसक्ने कांग्रेस बनाउने उहाँहरुको अपेक्षाको, उहाँहरुको आकांक्षाको जित हो ।’
उनले कांग्रेस हिजो चले जसरी नचल्ने पनि बताए । उनले भने, ‘अब त्यसरी चल्दैन । कांग्रेस रुपान्तरित भएर जान्छ । अब आधुनिक कांग्रेस बन्नेछ ।’ उनले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित आफ्नो जित रहेको स्पष्ट गरे ।
उनले निष्ठका साथ, जिम्मेवारीका साथ, विनम्रता, संयमताका साथ कार्य गर्दै जाने र रुपान्तरित कांग्रेस देश समक्ष राख्ने प्रतिवद्धता पनि व्यक्त गरे । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रुपमा बदल्ने उनको अठोट थियो ।