
कोरोना परीक्षणका किट लगायतका सामग्री लिएर नेपाल एयरलाइन्सको जहास चीनबाट नेपाल आइपुगेको छ ।
सरकारले खरिद गरेका १२.६६ टन मेडिकल सामग्रीमा कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमुना संकलन गर्ने किट, एन ९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्मोमिटर लगायत रहेका छन् ।
सरकारले किनेको साथै ज्याकमा फाउन्डेसन र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री काठमाडौं आइपुगेको हो ।
शनिबार गएको जहाज स्वास्थ्य सामग्री लिएर आइतबार बिहान ५ः३० बजे आइपुगेको हो । सरकारले खरिद गरेको उक्त सामग्री आइतबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
सरकारले ललितपुरमा रहेको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर नेपाल ल्याएको हो । सामान ल्याउँदा लागेको भाडा आयात गर्ने कम्पनीले नै व्यहोर्ने सरकारले जनाएको छ ।

सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ । पहिलो चरणका सामग्री ल्याउन नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज शनिबार साढे बाह्र बजे चीन प्रस्थान गरेको थियो ।
यही जहाजमा चीनको सिचुवान प्रदेश, चिनियाँ दूतावास, अलिबाबा र ज्याकमा फाउन्डेशनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउने भनिएका सामग्रीहरु पनि ल्याइएको हो ।
सिचुवान प्रदेश र चिनियाँ दूतावासबाट प्राप्त हुने सामग्री एक दशमलव एक मेट्रिक टन् छन् भने दुई फाउन्डेशनले उपलब्ध गराएको समान एक दशमलव ४ मेट्रिक टन हो ।
दुई फाउण्डेसनले ३ करोड १९ लाख १ हजार ६ सय रुपैयाँ बराबरको सामग्री पठाएका हुन् । सिचुवान प्रदेश र चिनियाँ दूतावासले भने ५४ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाएका हुन् ।