७ बैशाख २०८२, आईतवार

सांसदले एम्बुलेन्स दुरुपयोग गरी लकडाउनमा आएपछि…..

ambulance

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो । आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ ।

कालिकोटमा लकडाउनले आवागमन ठप्प छ। पैदल हिँड्नसमेत कडाइ गरिएको छ। तर कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाही एम्बुलेन्स चढेर सुर्खेतबाट कालिकोट आएपछि सर्वत्र आलोचना हुन थालेको छ।

जिल्ला अस्पतालको एम्बुलेन्स दुरुपयोग गरी उनी शुक्रबार साँझ सुर्खेतबाट उनी आएपछि स्थानीयले आलोचना गरेका हुन्। घर जान जिल्ला निर्वाचन कार्यालयनजिक सांसद शाही एम्बुलेन्सबाट उत्रेको देखेर स्थानीय एक युवाले फोटो खिचेका थिए।

‘सांसद एम्बुलेन्सबाट झर्दै गर्दा मैले एम्बुलेन्सको नै फोटो खिचें। किन फोटो खिचेको भनेर सांसद रिसाए। सांसद शाहीसँग मेरो सामान्य विवाद पनि भयो,’ ती युवाले भने, ‘पछि प्रहरीले मलाई बोलाउँदै थियो। म त्यहाँबाट भागें। सांसद चढेको एम्बुलेन्सको फोटो खिच्दा प्रहरीले उल्टै मलाई समात्न खोजेको हो। म भागेपछि प्रहरी पनि खोजेर आएन।’

सर्वसाधारणले लकडाउनका कारण दैनिक उपभोग्य सामान किन्नसमेत नपाएको बेला सांसद भने एम्बुलेन्स दुरुपयोग गरी लकडाउन उल्लंघन गरेको स्थानीयले बताए। सुर्खेतबाट आएका सांसदलाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको भनाइ छ।

सांसद शाहीले आफू जिल्ला अस्पतालको एम्बुलेन्समा सुर्खेतबाट कालिकोट आएको स्विकारे। उनले भने, ‘प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्ला अस्पतालको मास्क र इन्भर्टर लिएर आएको हुँ। एम्बुलेन्सको दुरुपयोग गरेको होइन।’