
दाङमा छालाको उपचार गर्न अस्पताल लगिएका एक जना कैदी भागेका छन् ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका राजपुर गाउँपालिका वडा नम्बर ३ बेलाका २८ वर्षीय जयराम परियार भागेका हुन् ।
घोराहीस्थित कारागारमा रहेका परियार हिजो अस्पतालबाटै भागेको प्रहरीले जनाएको छ ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका परियार सोही मोटरसाइकल लिएर भागेको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
प्रहरी जवान चौधरीले कैदी भागेको जानकारी दिउँसो ४ बजे मात्रै गराएका कारण मिलेमतोको आशंका गरिएको छ । फरार भएका कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।