
नेपाली काँग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाएको छ ।
पार्टीको १४औँ महाधिवेशनपछि आज बसेको काँग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले केही दिनअघि पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको थियो ।
यसैगरी, बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णय समेत गरेको छ ।
यसबाहेक बैठकले महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रूपान्तरणको भावना आत्मसात् गर्दै पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढ्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
यसैगरी बैठकले महाधिवेशन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।