
नेकपा (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आजको बन्द सत्रमा पार्टीको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा समूहगत धारणा राख्ने क्रम जारी रह्यो ।
बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गर्नुभएको विधान संशोधन मस्यौदामाथि प्रतिनिधिहरूको समूहगत निष्कर्ष पेश गर्ने क्रम आज नसकिएकाले भोलि पनि बाँकी समूहको प्रस्तुति रहने माओवादी केन्द्रले जनाएको छ ।
दुवै प्रतिवेदनमाथि छलफल गर्न बन्द सत्रमा २५ वटा समूह बनाइएको छ । आज ११ वटा समूहका टोली नेताले सामूहिक धारणा पेश गरिसक्नुभएको छ ।
प्रस्तुतिको अभिलेखीकरण गर्न बन्द सत्रमा तीन सदस्यीय टोली बनाएको माओवादी केन्द्रले समूह नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय दिएको छ ।
बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न र समूहगत प्रस्तुति लिखित रुपमा राख्न समेत निर्देशन जारी गरिएको छ ।
भोलि राजनीतिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन बन्द सत्रबाट अनुमोदन भए भोलि नै नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुने माओवादी केन्द्र निर्वाचन आयोगले जनाएको छ ।