
पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिएका छन्।
पूर्वराजाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरेका छन्।
उनले महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार पनि प्रकट गरेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ–
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश:
विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भै सकेको छ ।
यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।
महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सन्चारकर्मी एबम पत्रकारहरूप्रती हामी आभारी छौँ ।
आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दु:खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौं ।
राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ । दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।
भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्,
जय नेपाल।
