
कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएका छन् ।
कोरोना भाइरसको हालको महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी पनि उनले दिएका छन् ।
कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै उनंले अहिलेको संकटले विगतमा नआएको मन्दी ल्याउन सक्ने चेतावनी दिए ।
कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ४२ हजार भन्दा बढीको मृत्यु भएको छ भने ८ लाख ५७ हजार भन्दा बढी संक्रमित भएका छन् ।
न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बोल्दै महासचिव गुट्रेसले भने, ‘कोरोना भाइरसको महामारीले समुदायको केन्द्रमा हिर्काएको छ । यसले जीवन र जीविका माथि नै प्रहार गरेको छ ।’
उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको स्थापनापछि हामीले संयुक्त रुपमा सामना गर्नु पर्ने परीक्षा बनेर आएको छ कोभिड–१९ ।’ महामारी अन्त्यका लागि तत्काल सहकार्यको खाँचो रहेको उनले बताएका छन् ।
महासचिव गुट्रेसले औद्योगिक धनी राष्ट्रलाई कोरोना भाइरसविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव दिएका छन् ।
महासचिव गुटरेसले कोरोना भाइरसले समाजलाई आक्रमण गरिरहेको भन्दै अहिले विश्वलाई एकताको खांचो रहेकोमा जोड दिए । तत्काल समन्वयात्मक स्वास्थ्य सेवाको प्रवाहबाट मात्र महामारी अन्त्य गर्न सकिने उनको भनाई थियो ।
महासचिव गुटरेसले कोभिड नाइन्टिन,संयुक्त राष्ट्रसंघको गठन भएदेखि कै सामना गर्नु परेको सबैभन्दा ठूलो परीक्षा भएको उल्लेख गरे ।
महामारीका कारण विश्वभर दुई करोड ५० लाख भन्दा बढी मानिसको रोजगारी खोसिने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी