
बालुवाटार जग्गा प्रकरणमा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको
यसबारेमा अनुसन्धान अन्तिम चरणमा पुर्याएको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक धिरजप्रताप सिंहले तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको बताउनुभयो ।
सिंहका अनुसार तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायतलाई पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई छिट्टै पक्राउ गरिने सिंहले बताउनुभयो ।
पक्राउ पूर्जी जारी भएकालाई सकेसम्म अनुसन्धान प्रतिवेदनसँगै अदालतमा पुर्याउने ब्युरोको योजना छ ।
बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरू अहिले थुनामा रहे पनि बाँकी कसैलाई पक्राउ गरिएको छैन ।