
पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गएराति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिनुभयो ।
लुटपाटमा संलग्न उनीहरु बा१४च ३३०३ नम्बरको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।