
गत शनिबार सौर्य एयरलाइन्समार्फत काठमाडौं ल्याइएको स्रोत नखुलेको ५० लाख रुपैयाँ एयरलाइन्सकै अध्यक्ष दीपक पोखरेलको भएको खुलासा भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट शनिवार सोही एयरलाइन्सका कर्मचारीलाई प्रहरीले ५० लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
विराटनगरबाट काठमाडौं पठाइएको उक्त रकम रिसिभ गर्ने एयरलाइन्सकी कर्मचारी विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । रेशाको बयानका आधारमा प्रहरीले सोही एयरलाइन्सका विराटनगरका स्टेसन इन्चार्ज प्रकाश पौडेललाई पनि पक्राउ गरेर राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो ।
थप बयानका क्रममा एयरलाइन्सका कर्मचारीले उक्त रकम विराटनगरका व्यापारी दिनेश राठीको कार्यालयबाट दिएको भन्ने जानकारी पाएपछि विभागले व्यापारी राठीसँग सोधपुछ गरेको थियो ।
विभागको अनुसन्धानका क्रममा उक्त रकम सौर्य एयरलाइन्सकै अध्यक्ष दीपक पोखरेलको भएको खुलेको हो ।
विभागले कर्मचारीलाई नियन्त्रणमा लिएपछि दीपक आफैंले ५० लाख रुपैयाँ आफ्नो भएको जानकारी गराएका थिए । उनले सौर्य एयरलाइन्सकै लेटरप्याडमा पत्र लेख्दै कर्मचारीलाई छोड्न आग्रह गरेका थिए ।
विभागले कर्मचारीलाई छुटाउने भए बरामद रकम बराबरकै धरौटी राख्नुपर्ने जवाफ फर्काएपछि दीपकले धरौटी रकम बुझाएको विभागले जनाएको छ । धरौटी रकम बुझाएपछि एयरलाइन्सका कर्मचारीलाई प्रहरीले छाडिदिएको छ । विभागले दीपकसँग बिहीबार बयान लिएको छ ।
दीपक विवादित सुपारी तस्करीसँग जोडिएका व्यापारी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा उनको समूहलाई सरकारले ठूलो मात्रामा सुपारी पैठारी गर्न अनुमति दिएको थियो । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उनी नेतृत्वको समूहलाई २५ हजार टन सुपारी पैठारी गर्ने कोटा दिनुभएको थियो ।
विराटनगरबाट पठाएको रकम पनि सुपारी तस्करीसँग जोडिएको हुन सक्ने विभागको आशंका छ ।