९ बैशाख २०८२, मंगलवार

प्रदेश २ मा कोरोना संक्रमण तीव्र : खोप लगाउने दर बढ्न नसक्दा खतराकाे संकेत, स्वास्थ्य मापदण्ड पालनामा कडाइँ

corona virus graph

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेकाे छ ।

यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ ।

गत बिहीबार ६८ को स्वाब परीक्षण गर्दा नौ र शुक्रबार ३१ को स्वाब परीक्षण गर्दा सातजनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो पटक दुई दिनमा धनुषामा पाँच, सिरहा र महोत्तरीमा चार/चार, सप्तरी, सर्लाही र पर्सामा एक/एक गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिनुभयो । योसँगै प्रदेशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ । सङ्क्रमितहरु सबै होम आइसोलेसन रहेका छन् ।

“मङ्सिरको अन्तिम सातासम्म कोरोना सङ्क्रमण दर स्थिर थियो”, निर्देशक झाले भन्नुभयो, “तर पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो ।” अब पनि हेलचेक्र्याइँ गरिए स्थिति बिग्रिन सक्ने उहाँको भनाइ थियो । कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने निराशाजनक देखिएको छ ।

सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक झाका अनुसार पुस महिना बित्नै लाग्दा यो प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र छन् भने एक डोज मात्र लगाउनेको सङ्ख्या करिब ५० प्रतिशत छ ।

पुस महनिाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यो प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिनुभयो । “यसरी यही गतिमा खोप अघि बढिरहे कोरोनाको तेस्रो लहर आउँदासम्म ५० प्रतिशतलाई पनि खोप लगाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “त्यही भएर हामीले खोप लगाउने कार्यलाई गति दिनुस् भनेर जिल्ला स्वास्थ्य तथा नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई भन्यौँ, तर जुन ढङ्गबाट गति लिनुपर्ने थियो, त्यो हुन सकेको छैन ।” स्थानीय तहका जनप्रतिनिधिहरुले जसरी गम्भीरतापूर्वक लिनुपर्ने थियो त्यो नलिएका कारण खोप लगाउनेको सङ्ख्या नबढेकाे निर्देशक झाको भनाइ छ ।

यो प्रदेशका १५ वटा अस्पतालमा ३४६ आइसोलेसन श्यया, १९२ एडियू श्यया, ९१ आइसियु श्यया, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । यस्तै, प्रदेशभरि १२ वटा पिसिआर परीक्षण मेसिनबाट कोभिड–१९ जाँच हुँदै आएको जनाएको छ । भारतीय सीमानाकाबाट सङ्क्रमितलाई नेपाल प्रवेश गर्न नदिन प्रदेश नं २ का विभिन्न जिल्लास्थित सीमानाकाहरुमा हेल्थ डेक्स स्थापना भएको छ ।

प्रदेश सरकार विगतको भन्दा अहिले कोरोना सङ्क्रमण रोकथामका लागि बढी सक्रिय देखिएकाले अघिल्लो कोरोनाकालको जस्तो सम्भावित तेस्रो लहरमा पीडा भोग्नु नपर्ने प्रदेशवासीहरुको विश्वास छ । “अघिल्लो दुई कोरोनाकालमा प्रदेश र स्थानीय सरकार जति सक्रिय हुनुपर्ने थिया, त्यति नभएकाले प्रदेश नं २ कोरोनाको हटस्पट बन्यो,” जनकपुरधाम नगरपालिका–१७ का समीर महतोले भन्नुभयो, “त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले तयारी गर्नु आवश्यक छ ।” पहिलादेखि नै सर्वसाधारणसमेत सचेत भइसकेकाले पनि खासै ठूलो क्षति नहुने उहाँको भनाइ छ । यद्यपि स्वास्थ्य मापदण्डको पालना गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।