९ बैशाख २०८२, मंगलवार

आगामी निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन हुँदै : डा कोइराला

dr shekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताउनुभएको छ । 

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पार्नुभएको हो ।  

नेता कोइरालाले भन्नुभयो, “अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।”

उहाँले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताउनुभयो । पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्नखोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने नेता कोइरालाले बताउनुभयो । 

उहाँले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको दाबी गर्नुभयो । नेता कोइरालाले भन्नुभयो, “सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनु प¥र्यो । देखिने गरी हुनुपर्र्यो, न्यायसङ्गत हुनुप¥र्यो ।” 

आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसद्मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउनुहुँदै उहाँले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उल्लेख गर्नुभयो । नेता कोइरालाले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्नेमा जोड दिनुभयो ।