
नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवर्द्धनमा सहयोग गर्न नेपालमा सञ्चालित पाँचतारे होटेलहरूमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ ।
सेफ्स एसोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफ भान्सेहरूले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटेलमा नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा एसोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटेलमा नेपाली खानाको मेनु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश विदेशमा प्रवर्द्धन गर्नका लागि सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।