
नेपाली भूभाग लिपुलेकमा सडक विस्तार गर्ने भारत सरकारको घोषणाप्रति नेकपा एकीकृत समाजवादी पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले सोमवार एक विज्ञप्ति प्रकाशित गरि नेपाली भूभागमा सडक निर्माण गर्ने भारत सरकारको घोषणाप्रति आपत्ति जनाउनुभएको हो ।
लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपाली भूभाग हुन् भन्ने कुरा भारत सरकारलाई प्रष्टसँग थाहा हुँदा हुँदै नेपाल सरकारको सहमति विना कुनै पनि किसिमको निर्माण कार्य अवैधानिक हुने खनालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
यो नेपालको सार्वभौम र राष्ट्रिय अखण्डताविरुद्ध हुने चेतावनी पनि खनालले दिनुभएको छ । एकपक्षीय रुपमा एकतर्फी ढंगले उक्त क्षेत्रमा सडक निर्माण गर्ने भारत सरकारका जिम्मेवार नेताहरुबाट आएको पछिल्लो अभिव्यक्तिप्रति एकीकृत समाजवादीले भर्सना समेत गरेको छ ।
विज्ञप्तिमा सम्मानित नेता खनालले मुलुकको सार्वभौमिकता र अखण्डताको विरुद्ध भैरहेका यस्ता गतिविधिप्रति बेलैमा सजग भई आवश्यक कदम चाल्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
