
काठमाडौं मेडिकल कलेजका सञ्चालकले होस्टेल शुल्क फिर्ता गर्न नसक्ने बताएका छन् ।
कलेजले अतिरिक्त शुल्क फिर्ता नगर्ने भन्दै सहमतिको खाकामा नोट अफ डिसेन्ट जनाउने तयारी समेत गरेको छ।
विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार भएको छलफलमा कलेज सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताउनुभयो ।
‘होस्टेल शुल्क नियमभित्रै टेकेर ल्याइएको छ। शुल्क फिर्ता गर्दैनौं। यदि सहमति भयो भने त्यसमा मेरो नोट अफ डिसेन्ट हुन्छ,’ छलफलमा उहाँको भनाइ थियो । छलफलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले होस्टेल विद्यार्थीको ऐच्छिक विषय भएको बताउनुभयो ।
काठमाडौं मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त ६ लाख रुपैँयासम्म असुल्दै आएको छ। पीडित विद्यार्थी कलेजले गैरकानुनी शुल्क असुलेको भन्दै आन्दोलनमा छन्। छलफलमा शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका अधिकारी, मेडिकल कलेजका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो।