
भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउन लागेको प्रति नेपाल सरकारले विरोध पत्र पठाउने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नारायण खड्कालाई यस प्रकरणमा भारतलाई विरोध पत्र पठाउन निर्देशन दिनुभएको काँग्रेस महामन्त्री एवम् प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
यस्तै सरकारले लिपुलेकबारे आफ्नो धारणा समेत सार्वजनिक गर्ने तयारी थालेको बताइएको छ । यसका लागि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई निर्देशन दिइसकिएको शर्माले बताउनुभयो । यसअघि यो प्रकरणमा काँग्रेस र सरकार नबोलेको भन्दै आलोचना हुँदै आएको थियो ।
नेपाली काँग्रेसका महामन्त्रीद्वय शर्मा र गगन थापाले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउने लागेको प्रति विरोध जनाउनुभएको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले लिपुलेकमा भारतीय पक्षको गतिविधि आपत्तिजनक भएको उल्लेख गर्नुभएको छ ।
शुक्रवार बिहान काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवालाई भेटेपछि महामन्त्रीद्वयले विज्ञप्ति सार्वजनिक गर्नुभएको हो ।