
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
शनिवार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए ।
‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’
प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।
प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको पनि बताए ।
नेकपा एमालेका नेता सुवास नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई कोभिड रोकथाम र उपचारबारे ज्ञापनपत्र बुझाएको छ ।