
भारतले नेपालसँगको सीमा विवादबारे औपचारिक धारणा सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै पछिल्लो सीमा विवादबारेमा भारत सरकारको धारणा सार्वजनिक गरेको हो ।
नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको प्रेसनोटमा उल्लेख छ । भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको पनि दूतावासले जनाएको छ ।
यो बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भैरहेको बताउँदै भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने बताएको छ ।
यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राज्य उत्तराखण्डको चुनावी ¥यालीलाई सम्बोधन गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार भैरहेको र सन् २०२२ अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भैरहेको जनाएका थिए ।
मोदीको उक्त अभिव्यक्तिलाई लिएर नेपालका राजनीतिक दल र कूटनीतिक क्षेत्रले आपत्ति जनाएका छन् ।
सरकारकै नेतृत्व गरिरहेको दल कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पनि विज्ञप्ति जारी गर्दै मोदी अभिव्यक्तिको विरोध गर्नुभएको छ ।