
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा फरार भएका छन् । बुधबार राति करिब १ बजेतिर थुनुवा कक्षको झ्याल उप्काएर उनीहरु फरार भएका हुन् ।
पक्की थुनुवा घरको पछाडिको झ्याल फोडेर भागेका तीनै जना लागु औषध मुद्दामा पक्राउ परेकाहरू हुन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा भेरी गंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर-११ बस्ने २१ वर्षीय सन्देश कसेरा, वीरेन्द्रनगर-६ का २६ वर्षीय रोशनराज रेग्मी र वीरेन्द्रनगर-३ का २० वर्षीय सुनिल थारु रहेका छन्।
उनीहरु तीनै जना लागूऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले जानकारी दिए । कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने थारु र रेग्मी चैत १६ गते पक्राउ परेका थिए।
उनीहरुको खोजी कार्य जारी रहेको र घटनाबारे प्रदेश स्तरीय छानविन समिति गठनको तयारी भइरहेको डीएसपी तिम्सिनाले बताए।