
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन)सहित महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश–२०७८ जारी गरेको छ ।
पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश जारी गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।
आदेशअनुसार सबै प्रकारका आभसभा, जुलुस, भेला माघ मसान्तसम्म नगर्ने गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी सञ्चालन गर्ने, माघ ७ गतेपश्चात त्यस्तो कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने जस्ता विषय उल्लेख छन् ।
यस्तै, माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु बन्द गर्ने निर्णय भएको छ । विवाह, ब्रतवन्धलगायतका धार्मिक कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति समेत लिनुपर्ने भएको छ ।
https://drive.google.com/file/d/10knHN42Aq_k9A3-7Sl8ooULtG8a1h4i0/view?usp=sharing