
बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन्।
प्रियंका र निकका फ्यानहरु सामाजिक सञ्जालमार्फत उनीहरुलाई बधाई दिइरहेका छन्। धेरैले प्रियंका आमा बनेपछि उनको करियरमा केही असर पर्छ भन्ने अनुमान लगाएका थिए।
यो अनुमान केही हदसम्म सही साबित भएको छ। प्रियंकाले निर्माता फरहान अख्तर र रितेश सिधवानीलाई उनीहरुको फिल्म ‘जी ले जरा’मा आफ्नो सट्टा अरु कोही अभिनेत्रीलाई अनुबन्धित गर्न आग्रह गरेकी छन्। करिब सय करोडभन्दा बढी बजेटको यो फिल्मबाट प्रियंका अलग्गिने निर्णय लिइसकेकी छन्।
यो फिल्मका लागि निर्माण पक्षले कटरिना कैफ र आलिया भट्टसँगै प्रियंकालाई पनि अनुबन्धित गरेका थिए। फिल्म सडक यात्राको कथामा आधारित छ। प्रियंकाले आमा बनेपछि सम्पूर्ण समय र शक्ति बच्चाका लागि छुट्याउने निर्णय लिएकी छन्।
सन्तानका कारण प्रियंकाले फिल्मबाट हात झिकेपछि अहिले निर्माताहरु को अभिनेत्री लिने भन्ने तनावमा छन्। प्रियंका पछिल्लोपटक फरहानकै फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन्।