
काठमाडौं उपत्यकामा जारी जोर बिजोर सवारी सञ्चालनबारे पुनर्विचार हुने भएको छ ।
उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले जोर बिजोरआदेशबारे समीक्षा गर्ने भएका हुन् । यसका लागि शुक्रबार प्रमुख जिल्ला अधिकारीहरूको बैठक बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागू गरेको छ। तर त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेको छ ।
शुक्रवारसम्ममा अर्को आदेश जारी गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । तर जोर–बिजोर प्रणालीलाई हटाउनेबारे निर्णय भने नभएको उहाँले जानकारी दिनुभयो ।
शुक्रवारको बैठकमा प्रशासन कार्यालयले जारी गरेका आदेश पालना र प्रभावको समीक्षा समेत हुने उहाँले बताउनुभयो ।