
कोभिड १९ को संक्रमण रोक्न काठमाडौं उपत्यकामा जारी स्मार्ट लकडाउनको आदेशबारे समीक्षा गर्न उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बस्दैछ ।
शुक्रबार बस्ने प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी आदेशबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीड लागेको भन्दै गुनासोहरू आइरहेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले भने यसबारे मिश्रित प्रतिक्रियाहरू आएको र आफूहरुले पनि अनुगमन गर्ने जानकारी दिनुभयो ।
यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि शुक्रबारनै अर्को आदेश जारी गर्ने बताउनुभयो । तर जोर–बिजोर प्रणालीलाई हटाउनेबारे निष्कर्षमा भने पुगि नसकेकोले शुक्रबारसम्मको अवस्था हेरेर थप निर्णय लिने उहाँको भनाई छ ।