८ बैशाख २०८२, सोमबार

जेष्ठ ५ अगावै स्थानीय तह निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

aayog deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ जेष्ठ ५ अगावै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ ।

आज स्थानीय तह निर्वाचनको मिति तोक्नका लागि परामर्श गर्न पुगेका निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको हो ।

आयोगले प्रधानमन्त्री देउवालाई भेटी २०७४ मा निर्वाचित पदाधिकारीहरूको पदावधि २०७९ जेठ ५ मा समाप्त हुने भएकोले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले २०७९ जेष्ठ ४ गते बुधवारका दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचनको मिति तोक्न परामर्श दिएको छ ।

आयोगले मतदाता नामावली सङ्कलन, मतदान स्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरू निरन्तर गरिरहेकोले निर्वाचनको मिति तोकिएमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको समेत आयोगले जनाएको छ ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले आयोगको परामर्श अनुसार प्रस्तावित मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न आवश्यक प्रक्रिया पूरा गरी निर्वाचनको मिति तोकिने जानकारी गराउनु भएको आयोगले जनाएको छ ।

छलफलमा गृह मन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद वडु, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव र आयोग पदाधिकारीको सहभागिता थियो ।