८ बैशाख २०८२, सोमबार

दिवेश अमेरिकन आइडलको टप २० मा प्रवेश

Arthur Gunn

चर्चित सिङ्गीङ रियालीटी शो, अमेरिकन आइडलमा दमदार प्रस्तुति दिँदै आएका नेपालका दिवेश पोखरेल शीर्ष २० मा पुग्न सफल भएका छन् ।

अमेरिकन आइडलमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली ठिटो दिवेश पोखरेलले आफूलाई टप २० मा सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसनदेखि टप २० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले जजबाट उत्कृष्ट प्रतिकृया पाएका छन् ।

यसरी सबैमाझ राम्रो प्रभाव पार्न सफल दिवेसको स्वभावदेखि उनको गायन कला सबै आफूहरुलाई अत्यन्तै मन परेको भन्दै जजहरुले पुनः उनको तारिफ गरेका हुन् ।

दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । हजारौ दर्शकको उपस्थितीमा उनले आफ्नो धमकेदार प्रस्तुती दिएका थिए । उनको प्रस्तुती हेर्न उनको परिवार पनि त्यहाँ उपस्थित थिए ।

https://www.youtube.com/watch?v=46P8QcMq2QQ

टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’

आफू टप २० मा परेकोमा दिवेश निकै खुसी छन् । आफ्नो सपनाहरु झन नजिक हुदैँ गएको उनको भनाई छ । उनले आफूलाई टप २०को लायक देखेकोमा जजहरुलाई धन्यवाद दिएका छन् ।