
स्विडेनका प्रधानमन्त्री स्टेफान लोफवेनले आफ्ना नागरिकहरूलाई कोभिड–१९ का सम्बन्धमा लापरवाही गर्दा हजारौं मानिस मर्न सक्ने भन्दै कडा चेतावनी दिएका छन् ।
जनताले महाव्याधिलाई गम्भीरतापूर्वक नलिएको भन्दै लगभग २३ सय चिकित्सक र प्राज्ञिकहरूले स्विडेन सरकारको आलोचना गरेपछि प्रधानमन्त्रीको सन्देश आएको हो । स्विडेनमा सामाजिक दूरी लगायतका विधि खासै अपनाइएको छैन ।
युरोपका धेरैजसो मुलुकमा लकडाउन तथा सामाजिक दूरीका उपायहरू अपनाइएको छ तर स्विडेनमा सामान्य अवस्थामा जस्तो व्यवहार गरिँदैछ ।
रेस्टुराँहरू, विद्यालयहरू र कार्यालयहरू खुलै छन् । ५०० जनासम्मलाई भेला हुन दिइएको छ ।अत्यन्तै जोखिममा रहेका नागरिकलाई घरैमा सेल्फ आइसोलेसनमा बस्न प्रेरित गरिएको छ ।
सरकारी अनुदान प्राप्त पब्लिक हेल्य एजेन्सी अफ स्विडेनले स्विडिशहरूमा स्वेच्छाले सामाजिक दूरी अपनाउने सामान्य ज्ञान रहेको बताउँदै आएको छ । नियन्त्रण लगाइने नै हो भने पनि हलुका खालको लगाउनुपर्ने ताकि त्यो महिनौंसम्म जाओस्, उसको तर्क छ ।
तर त्यसो भनिरहँदा स्विडेनमा ४०० भन्दा बढीको ज्यान गइसकेको छ र ७ हजार जतिलाई संक्रमण देखिएको छ । त्यसैले अब सरकारको सुर बदलिरहेको छ । अघिल्लो साता नोबेल फाउन्डेसनका प्रमुख कार्ल–हेन्ड्रिक हेल्दिन लगायत दुई हजारभन्दा बढी चिकित्सक र प्राज्ञिकहरूले खुलापत्र लेख्दै स्विडिशहरूलाई सतर्क हुन आह्वान गरेका थिए ।
केहीले त राजधानी स्टकहोममा लकडाउन लगाउनुपर्ने माग समेत गरे । वृद्धाश्रममा रहेका ५० जनालाई भाइरसले मारेपछि यो माग उठेको हो । एजेन्सी