१० बैशाख २०८२, बुधबार

सरकारको कामको समिक्षा गर्दै सरकारलाई दिशानिर्देश गर्छाैं : महामन्त्री शर्मा

Bishow prakash sharma
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समिक्षा हुने बताउनुभएको छ ।

महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समिक्षा गर्दै दिशानिर्देश गर्ने बताउनुभएको हो ।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उहाँले बताउनुभयो ।

जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उहाँले उल्लेख गर्नुभयो । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उहाँको भनाइ छ ।

महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरु पुरा हुन नसक्ने पनि बताउनुभयो ।

सरकार संविधान अनुसार चलाउने, संविधान र संसदको रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै सो अनुसार भए नभएको जनताले समिक्षा गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी, केन्द्रीय कार्यसम्पादन समितिले भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनको सम्बन्धमा पनि टुंगोमा पुगिने उहाँले बताउनुभयो ।

कांग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो ।