
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण माग गरेको छ ।
राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण बुझाउन निर्देशन दिएको हो । अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बर सहित रकम कहिले र किन निकालेको लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ ।
राष्ट्र बैंकले उक्त विवरण आगामी सोमबार सम्म पठाइसक्न निर्देशन दिएको छ । हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने व्यवस्था छ ।
यसबाहेक शंकास्पद कारोबारका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा वित्तीय इकाईमा जानकारी दिनुपर्ने प्रावधान छ । तर, अहिले ७ लाख रुपैयाँभन्दा माथिका सबै नगद कारोबारको विवरण राष्ट्र बैंकले बैंकहरुसँग मागेको छ ।
सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे गैरस्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।
पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैरकानुनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंकामा राष्ट्र बैंकले नगद कारोबारको विवरण मागेको बताइएको छ ।