
मंगलबार अपराह्न ४:०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। लकडाउन पछिको यो पहिलो बैठक हो भने चैत ५ गतेपछि नेकपाको सचिवालयको बैठक बस्न सकेको थिएन ।
सक्रिय हुनुपर्ने बेलामा पनि प्रधानमन्त्री मौन बसेको भन्दै पार्टीमा तीव्र आलोचना भइरहेको बेला नेकपाको सचिवालय बैठक डाकिएको हो। जानकारका अनुसार नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय बैठक बोलाउन दबाब परेको थियो।
पार्टी प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरबाट दुबै अध्यक्षसँग सचिवालय बैठक बोलाउन माग गरेका थिए।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी सचिवालय बैठक बोलाउन जरूरी भएको बताएका थिए। चीनबाट स्वास्थ्य उपकरण ल्याउँदा भएको अनियमितताबारे पार्टीमा छलफल गर्नु पर्ने धारणासमेत उनले राखेका थिए।