
प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको निधन भएको छ भने पाँच जना घाइते भएका छन् ।
छ जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा प्युठान अस्पतालमा निधन भएको हो । निधन हुनेहरु गौमुखी गाउँपालिका–६ का स्थानीय हुन्।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार निधन हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसी रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
दुर्घटनामा बेहुला, बेहुली समेत घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज विहान करिब ३ बजेतिर ओखरपाटामा दुर्घटनामा परेको थियो ।
जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।