
बाराको देवताल गाउँपालिकामा छोरी बुहारी शिक्षा कार्यक्रम सञ्चालनमा आएको छ ।
बेलायत सरकारको सहयोगमा सञ्चालित आरम्भ परियोजनाको मोडेललाई परिमार्जन गरी गाउँपालिकाले आफ्नै स्रोत साधनको प्रयोगबाट ‘छोरी बुहारी शिक्षा’ कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष चन्दन सिंहले जानकारी दिनुभयो ।
शिक्षा पाउने अधिकारबाट पालिकाका भित्रका कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छोरी बुहारी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको अध्यक्ष सिंहले बताउनुभयो ।
विद्यालय बाहिर रहेका १८ देखि ३० वर्षका उमेर समूहका महिलाहरूलाई अनौपचारिक शिक्षा प्रदान गरिने कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले आवश्यक स्रोत साधनको व्यवस्था मिलाएको छ ।
नेपाल सरकारले युनिसेफको सहयोगमा बारा जिल्लाका १६ स्थानीय तहले छोरी बुहारी कार्यक्रमको साथै किशोरी शिक्षा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
किशोरी शिक्षा कार्यक्रम पनि शिक्षाको पहुँचबाट टाढा रहेका किशोर किशोरीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले जानकारी दिनुभयो ।