
परराष्ट्रमन्त्री डा.नारायण खड्काले सडकमा होहल्ला गरेकै भरमा स्थानीय निकायको चुनावको मिति घोषणा नहुने स्पष्ट पारेका छन् ।
शनिबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको प्रशासकिय भवन र १५ शय्याको आधारभूत अस्पातालको शिलान्याश गर्दै मन्त्री खड्काले कसैको दबाबका आधारमा नभएर राज्यका ऐन नियमअनुसार स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने बताए ।
उनले स्थानीय चुनावका विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल भएको र छिट्टै मन्त्रिपरिषद्ले मिति तोक्ने बताए ।
त्यस्तै, मन्त्री खड्काले एमाले आफू सरकारमा हुँदा एमसीसी राष्ट्रको हितमा रहेको भन्दै संसदबाटै पारित गराउन लागि परेको तर प्रतिपक्षीमा आएपछि अनाश्यक विरोध गरेको बताए । एमसिसी सबैको सहमतीमा मात्र पास हुने पनि उनले बताए ।
चौदण्डीगढी नगरपालिकाले ५ करोड ७६ लाखको लागतमा घेराबेरा, लिफ्टसहितको साढे तीन तले भवन निर्माण सम्पन्न गरेको हो । त्यस्तै, अस्पताल साढे १२ करोडको लागतमा आर्थिक वर्ष २०७९/८० भित्र सम्पन्न हुने गरी निर्माण सुरु गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।