
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लकडाउनका अवधिमा सरकारको नीति विपरीत कार्यकर्तासहित राहत बाँड्न निस्किएपछि विवाद उत्पन्न भएको छ ।
जिल्लाको विपद् व्यवस्थापन र स्थानीय सरकारले सबै राहत र स्वास्थ्य सामग्री एकद्धार प्रणालीमार्फत गर्ने भन्ने निर्णय गरेका बेला यसरी आउँदा महामारी फैलन सक्ने भनी स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीको अनुरोधलाई स्वीकार नगरी उनी सोमबार त्रिपुरासुन्दरी गापा–२ चोकटीमा स्वास्थ सामग्री लिएर पुगेका थिए । केही दिनअघि उनले बाह्रबिसेमा गरेको खाद्यान्न वितरण पनि विवादित भएकोे थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुनकोशी गाउँपालिका अध्यक्ष प्रेमलाल लामाले बस्नेतको गतिविधि समाजविरोेधी रहेको बताए । गाउँपालिकाको बजेटले किनेको आइसोलेसन शै्यया बाँड्दै हिँडेर बस्नेतले सस्तो प्रचार गरेको लामाको भनाइ छ ।
बाह्रबिसे नगरका प्रमुख निमफुञ्जो शेर्पाले प्रेस विज्ञप्ति जारी गरेर बस्नेतको गतिविधिले विभिन्न शङ्का उत्पन्न गराएको र सरकारले जारी राखेको लकडाउनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । रासस