
सरकार र प्रमुख प्रतिपक्षीबिच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गर्नुभएको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घण्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको उहाँको भनाइ छ ।
संसद्मा लामो समयदेखि जारी रहेको गत्यावरोधलाई हटाउने विषयमा पनि महत्त्वपूर्ण संवाद भएको उहाँको भनाइ छ । राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अगाडि बढाउन आजको छलफल ‘आइस ब्रेक’ भएको मन्त्री कार्कीले बताउनुभयो ।
एक फरक प्रसङ्गमा मन्त्री कार्कीले सत्तारूढ गठबन्धनमा कुनै पनि अविश्वास नरहेको उल्लेख गर्नुभयो ।