
भारतको उत्तर प्रदेशको बापत जिल्लाको एक अस्पतालको झ्यालबाट हाम्फालेर भागेका कोरोना संक्रमित नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर फेरि अस्पतालमा पुर्याएको छ ।
उत्तरप्रदेशको एक अस्पतालमा उपचार गराइरहेका र तबलिगी जमाती समूहका यी ६५ वर्षीय व्यक्ति नेपालको सुनसरीका भएको बताइएको छ ।
उनी दिल्लीको निजामुद्दीनमा भएको एक कार्यक्रममा भाग लिन भारत पुगेका थिए । निजामुद्दीनमा भएको तबलिगी सम्मेलनमा सहभागी सयौँलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । तीमध्ये यी व्यक्तिमा पनि कोरोनाभाइरस संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो ।
उनको रिपोर्ट आएलगत्तै त्यहाँको प्रशासनले अस्पतालमा भर्ना गरेको थियो । तर, उनी राति अस्पतालको झ्यालको सिसा फोरेर भागेका थिए ।
कोरोनाभाइरस संक्रमित व्यक्ति भागेपछि त्यहाँको प्रहरीले उनको खोजीका लागि विभिन्न स्पेसल टिम नै बनाएको थियो ।
निजामुद्दीनमा तबलिगी जमाती समूहको धार्मिक सभामा सहभागी भएका अन्य १९ जना नेपालीहरुको पनि खोजी भइरहेको छ । केहीलाई तराईका जिल्लाहरुमा प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको छ ।