
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठुलो गठबन्धन नभएको स्पष्ट पारेका छन् ।
एमसीसीविरुद्धमा बुधबार काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका विरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठुलो गठबन्धन हुन नसकने बताएका हुन् ।
उनले जनमोर्चाले गठबन्धन जोगाउनभन्दा मुलुकलाई जोगाउन लागि पर्ने जिकिर गरे । अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने काम गरेको उनको भनाइ छ ।
उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठिक काम गरेको पनि बताए । एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस विषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए ।
केसीले एमसीसीमार्फत् अमेरीकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको जिकिर गरे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै खारेज गर्नुपर्ने धारणा राखेका थिए ।