
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताउनुभएको छ ।
बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जिवनमा केही फरक नपर्ने बताउनुभएको हो ।
राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडी बढ्ने उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो – ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जिवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।’
उहाँले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडी बढ्ने भन्दै उहाँले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हामीले सबै साथीहरुलाई आव्हान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने यो छोड्ने क्रममा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नु हुने छैन । अहिले भुमिकाविहिन रहेका केही साथीहरुले यसप्रकारको निर्णय गरेको सुन्नमा आएको छ ।
अरु साथीहरुलाई पनि हामी आग्रह गर्छौ, उहाँहरुलाई पनि आग्रह गर्छौ, र आम हाम्रा नेता, कार्यकर्ता र शुभेच्छुक साथीहरुलाई आव्हान गर्छौ कि यो घटनाबाट कसैले पनि विचलित हुनुपर्दैन । राप्रपा अझ दृढ, अझ सशक्त ढंगले अगाडी बढ्छ । र यसलाई हामीले शक्तिमा रुपान्तरण गरेर अगाडी बढ्छौँ ।’ अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह समेत गर्नुभएको छ ।