
कोरोनाको ओमिक्रोन भेरियन्टको त्रासबाट मुक्त हुन नसकेका वेला फेरि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भेरियन्टबारे चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको बीए.२ (BA.2) सब भेरियन्ट (उपसंस्करणं) विश्वव्यापी रूपमा फैलने आशंका व्यक्त गरेको छ।
यद्यपि सब भेरियन्टले ओमिक्रोनबाट संक्रमित व्यक्तिलाई पुनः संक्रमण गर्छ कि गर्दैन भन्ने अझै स्पष्ट छैन। ओमिक्रोनपछि पनि कोरोनाका धेरै नयाँ संस्करण आउन सक्ने डब्ल्यूएचओले बताएको छ। यो भेरियन्ट पहिचान गर्न निकै कठिन हुने भएकाले स्टिल्थ भेरियन्ट पनि भनिन्छ।
डब्ल्यूएचओको कोभिड–१९ प्राविधिक टोलीको नेतृत्व गर्ने इपिडिमियोलोजिस्ट मारिया भान केरखोभले बीए.२ सब भेरियन्ट बीए.१ भन्दा बढी संक्रामक भएको बताइन्। उनले अबको केही समयमा यो कोरोना संक्रमणको प्रमुख कारण पनि बन्न सक्ने बताइन्।