
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गठन गर्ने नयाँ पार्टीको नाम राष्ट्रिय एकता पार्टी रहने भएको छ ।
बिहीबार महाराजगञ्जमा बसेको बैठकले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हो । छलफलमा राप्रपा पदाधिकारीबाहिर रहेका नेताहरूको सहभागीता रहेको थापानिकट नेता राजाराम बर्तौलाले बताउनुभयो ।
‘बैठकले हिन्दुत्व, सुशासन र समृद्धिको मूल एजेन्डा राखेर नयाँ पार्टी गठन गर्ने निधो गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले पार्टी दर्ता अधिकार थापालाई नै दिएको छ । छलफलमा थापा र हालको राप्रपा कार्यसमितिबाहिर रहेका तीन दर्जन नेता सहभागी भएको बर्तौलाले जानकारी दिनुभयो ।
३१ वर्ष राप्रपाको नेतृत्वमा रहेका थापा मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको थियो ।
आफू पराजित हुनुमा थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको भूमिका रहेको भन्दै छानबिन गर्न माग गर्नुभएको थियो ।