
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका सरकारी सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताउनुभएको छ ।
आज शुक्रवार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । सरकारको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो ।
विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेले दाबी गर्नुभयो ।
पदमा बसुन्जेल इमानदारपूर्वक देशका लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिनुभयो ।