
मान्छेको निधन हुँदा ‘बाट’ भनिने कपडालाई शवसँगै दाहसंस्कारको लागि घरदेखि घाटसम्म लैजाने अनौठो चलन जाजरकोटका गाउँघरमा वर्षौँदेखि चल्दै आएको छ ।
शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, निलो, रातो र पहेँलो रङ्गको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गर्ने गरिएको हो ।
नलगाड नगरपालिका ८ का दिपक सिंहले बाबुको अन्त्येष्टिमा ५० थान अथवा करिब छ सय मिटर लामो ‘बाट’ भनिने लामो कपडा प्रयोग गर्नुभयो । बाबुको अन्त्येष्टिको लागि कपडा किन्न एक लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । त्यो पैसा सामाजिक काममा खर्च गरेको भए राम्रो हुने तर बुवाको धोको पूरा गर्न लामो ‘बाट’ हाल्नु परेको सिंहले बताउनुभयो ।
सोही ठाउँका पदमबहादुर खत्रीले आमाको निधन हुँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कारको बताउनुभयो ।
सिंह र खत्री त केही प्रतिनिधि पात्र मात्र हुन । कैयौँ जिल्लावासीले वर्षौँदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् । ‘बाट’ लाई अघि लगाएर शवलाई पछिपछि दाहसंस्कारको लागि लैजाने गरिएको नलगाड ५ का शान्तबहादुर खत्रीको भनाइ छ ।
खत्रीका अनुसार अन्त्येष्टिको लागि लैजाँदा बाटो देखाउन, छरछिमेक र अर्को गाउँका मानिसले पनि निधन भएको कुरा जानकारी पाउन् भनेर लामो कपडालाई सङ्केतका रूपमा प्रयोग गरिने गरिएको छ ।
कपडा हाल्ने चलनले गाउँघरमा सामाजिक असमानतालाई बढवा दिएको पनि भन्ने गरिन्छ । अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्टाउने गरेको बताउनु हुन्छ ८५ वर्षीय कर्णबहादुर रावल ।
इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन ऋण गरेर भए पनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको रावलले बताउनुभयो । छोटो कपडा प्रयोग गर्दा गाउँलेहरूले नै कुरा काट्ने हुँदा सकी नसकी लामै ‘बाट’ प्रयोग गर्न बाध्य हुनुपरेको उहाँको भनाइ छ ।
संस्कार जोगाउन दुई तीन मिटरको बाट हाल्दा पनि हुन्थ्यो होला भन्नुहुन्छ बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह । देखासिकीकै लागि थानका थान कपडाको प्रयोग गर्ने चलनले गर्दा विपन्नलाई समस्या हुने गरेको शाहको भनाइ छ ।
मृतकप्रति सम्मान दर्शाउन नजिकका आफन्त (छोरी, ज्वाइँ, बहिनी, दाजुभाइ) ले पनि अनिवार्य रुपमा कपडा ल्याउने चलन रहेको अध्यक्ष शाहले बताउनुभयो । आफन्तले कम्तीमा एक–एक थान हाल्दा पनि ‘बाट’ धेरै लामो हुने गरेको हो ।
बाँचुन्जेल राम्रोसँग खान लाउन नपाए पनि मृत्यु हुँदा भने लामो ‘बाट’ हाल्ने चलन छ । पहिले अहिलेको जस्तो खबर आदान प्रदान गर्ने सञ्चारका माध्यम (टेलिफोन, सामाजिक सञ्जाल) थिएन । त्यति बेला धेरैलाई थाहा होस् भनेर लामो ‘बाट’ हाल्नु स्वाभाविक भए पनि अब यसलाई कम गर्नुपर्ने शाहको भनाइ छ ।
कतिपय बुढापाकाले अहिले पनि आफ्नो लागि आफैले धेरै थान कपडा किनेर राख्ने गरेका छन् । जति लामो ‘बाट’ हालिन्छ उति छिटो स्वर्गमा पुगिन्छ भन्ने अन्धविश्वासले गर्दा बुढापाकाले आफ्नो लागि आफैले कपडा किनेर राख्ने गर्दछन् ।
अरूलाई देखाउन थानका थान ‘बाट’ हालेर धेरै खर्च गर्नु भन्दा मृतकको नाममा विद्यालय लगायतका संस्थामा अक्षय कोष स्थापना गरेर समस्यामा परेका दीनदुःखीलाई सहयोग गर्दा आफन्तप्रति उचित सम्मान हुने बताउनुहुन्छ, नलगाड ८ का प्रेम केसी । यो परम्पराको अन्य गर्नु नै आजको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।






