
एमसीसीबारे अमेरिकाले यही २८ फेब्रअुरीसम्ममा छिनोफानो गर्न नेपाललाई दवाव दिएपछि राजनीतिमा तरंग पैदा भएको छ । यसबीच दलहरु तिव्र छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । सो छलफलमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए ।
उक्त छलफलमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुख अग्निप्रसाद सापकोटाबको बारे चासो व्यक्त गरेका थिए । छलफलका क्रममा देउवालाई उनले सभामुखलाई हटाउन खोजेको हो ? भनी प्रश्न समेत गरेका छन् ।
उनी निकट एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेका हुन् । प्रचण्डलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि साथ दिएका थिए ।
सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरुले प्रधानमन्त्रीको जवाफ मागेका हुन् । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएका प्रचण्डनिकट नेताको भनाई छ ।
‘यो (सभामुख हटाउने विषय) सोच्नै सकिँदैन । केही (हस्ताक्षर) संकलन भएको छैन र होइन । अनावश्यक हल्ला भएको विषयमा कुरै नगरौं’ देउवाको जवाफबारे प्रचण्डको ब्रिफिङ सुनेका ती नेताले बताए ।
फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेलाई सार्न उपयुक्त हुने प्रचण्ड र नेपालले देउवाले बताएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले २ गतेको बैठक सार्न सभामुखलाई आग्रह गरिसकेको छ । जवाफमा प्रधानमन्त्री देउवाले सभामुखसम्म सन्देश पुर्याउने बताएका थिए ।
देउवाको प्रस्तावलाई प्रचण्ड र माधवद्वारा अस्वीकार
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेका छन् । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुले धारणा राखेका थिए ।
प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले जबर्जस्ती गर्ने हो भने गठबन्धन भत्किन सक्ने चेतावनीसमेत दिएको छन् । तर, प्रधानमन्त्रीले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएको स्रोतको भनाई छ । एमसीसी परियोजना सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा तीन शीर्ष नेताबीच छलफल भएपनि बैठक विना निष्कर्ष टुंगिएको छ ।
अमेरिकाको दवावपछि देउवा एमसीसी संसदबाट अनुमोन गर्ने पक्षमा लागेका छन् । तर, प्रचण्ड र नेपालले यथास्थितिमा अनुमोदन गर्न नसकिने अडान कायमै राखेका छन् ।
शनिबार पनि तीनै जना नेताले आफ्नो अडान नछाडेपछि बैठक त्यतिकै सकिएको थियो । अमेरिकाले यही २८ फेब्रअुरीसम्ममा एमसीसीबारे छिनोफानो गर्न दवाव दिएको छ ।