
सरकारले यथास्थितिमै एमसीसी सम्झौता संसद बैठकमा टेबल गरे नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने घोषणा गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालले संशोधन वा परिमार्जन नगरी एमसीसी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने स्पष्ट पार्नुभएको हो ।
माओवादी अध्यक्ष दाहालले परिमार्जन र संशोधनविना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लैजान नहुने अडान कायम रहेको बताउनुभएको छ ।
आफूहरुको अडानका वावजुद सरकारले संसदमा लैजाने भए त्यस्तो अवस्थामा माओवादी पार्टीलाई सरकारमा बस्न नैतिकताले नदिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राख्नुभएको थियो । तर दाहाल र नेपालले भने यथास्थितिमा टेबल नगर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।
अध्यक्ष दाहालले आफू वर्तमान सत्ता गठबन्धनलाई जोगाएरै अघि बढ्ने प्रयासमा रहेको बताउनुभएको छ । तर, एमसीसीका कारण गठबन्धन टुट्दै टुट्दैन भनेर ग्यारेन्टी गर्न नसक्ने भने उहाँले स्पष्ट पार्नुभएको छ ।