
प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ ।
तर संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सो कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।
यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन सकिने बताइएको छ ।
मंगलबार नै बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई आग्रह गर्नुभएको थियो ।
काँग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको छ । एमसीसी संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने काँग्रेसको जिकिर छ ।
तर एमसीसीको पक्षमा सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टीमा भने नेताहरुमै एमसीसीबारेको बुझाइ एकरुपता छैन ।
यसैगरी जसपा पनि एमसीसीको पक्षमा देखिएको छ भने प्रतिपक्षी दल एमालेचाहिँ सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय पर्ने पक्षमा रहेको छ ।