
सुडान मिसनकै क्रममा हृदयघातबाट मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश बिष्टको शव लिन श्री एयरलायन्सको जहाज शनिबार बिहान सुडानका लागि उडेको छ ।
संयुक्त राष्ट्रसंघको सुडान मिसनमा स्टाफ अफिसरका रुपमा खटिएका बिष्टको शव आइतबार दिउँसो काठमाडौं ल्याइने छ ।
नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको चैत १७ गते शान्ती मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो । स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि उडेको हो ।
कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकले गरेको लकडाउनका कारण यो चार्टर उडानको अनुमति लिन झण्डै दुई साता ढिलाइ भएको हो ।

सुडान पुग्न नेपाल हुदै उड्नुपर्ने मुलुकहरु भारत, पाकिस्तान, मस्कट, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो ।
यो चार्टर उडानको खर्च संयुक्त राष्ट्र संघले बेहोर्ने सैनिक प्रवक्ता सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । श्रीले आन्तरिक रुटमा उडाउँदै आएको यो सीआरजे विमान काठमाडौंबाट सिधा सुडान उडान गर्ने क्षमताको भने होइन ।
काठमाडौंबाट बिहान पौने ८ बजे उडेको यो विमान मस्कटमा इन्धन भर्न टेक्निकल ल्याण्डिङ गर्नेछ । त्यहाँ त्यहा इन्धन भरेर सुडानस्थित खारथुम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
फर्किँदा पनि मस्कटमा अवतरण गरेर भोलि दिउँसो मात्रै काठमाडौं फर्किने छ । जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। । विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको पनि प्रवक्ता पाण्डेले बताए ।